अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 19:49

ड्रुक एयरले पोखराका लागि पहिलो चार्टर उडान गर्दै

बिआरटीनेपाल २०८० भदौ ११ गते ६:५४ मा प्रकाशित

भुटानको ड्र्युक एयरले भदौ २३ मा पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने भएको छ । ड्रुकले साउन २५ गते पोखरामा चार्टर उडान गर्न नेपालको नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो ।

प्राधिकरणले ड्रुकलाई आइतबार चार्टर उडान अनुमति दिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । ‘पारो–पोखरा–पारो नियमित उडानको तयारी गरिरहेको ड्रुक एयरले चार्टर उडानबाट पोखरामा भदौ २३ गते चार्टर उडान गर्ने अनुमति पाएको छ,’ सहप्रवक्ता भुलले भन्नुभयो । उहाँका अनुसार, ड्रुकले पारो–पोखरा उडानको समय १ घन्टा हाराहारी हुने भनेको छ । चार्टर उडानमा ड्रुकले १ सय ५० हाराहारी यात्रु क्षमता भएका एयरबस ए ३१९ वा एयरबसको ए ३२० जहाजमध्ये एउटा ल्याउन अनुमति लिइसकेको छ । ड्रुक एयरको काठमाडौंस्थित जनरल सेल्स एजेन्ट ९जीएसए० डाँफे ट्राभल सेन्टरका प्रबन्ध निर्देशक पवित्रकुमार कार्कीका अनुसार, ड्रुकले पारोबाट पोखराका लागि पर्यटक ल्याउँदै छ भने पोखराबाट रित्तै फर्किने छ । ‘ड्रुकले भुटानबाट पोखरामा नियमित उडान गर्ने प्रारम्भिक अध्ययन गर्दै छ । नियमित उडानको मिति यकिन भइसकेको छैन,’ प्रबन्ध निर्देशक कार्कीले भन्नुभयो ।

पोखरा र भैरहवाका नयाँ विमानस्थलमा भुटानबाट उडान गर्न यसअघि मध्य साउनमा त्यहाँको यातायात मन्त्रालय मातहत रहेको भुटान सिभिल एभिएसन अथोरिटीमार्फत नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति माग गरिएको थियो । भुटान सरकारले काठमाडौंलगायत एसियाली सहरहरूमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका ड्रुक एयर र भुटान एयरलाई भैरहवा र पोखरामा उडान अनुमति दिला दिन अनुमति मागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू