अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 23:50

डा. केसी, भो अब भ्रम नपाल  !

रामप्रसाद खनाल २०७७ असोज २३ गते १९:२० मा प्रकाशित

मान्छे मारेर जेल बसेको मान्छे,
राजनेता हुने देशमा !
मान्छे मार्ने,
खसी बोका काटे जस्तै काट्ने
गला रेट्ने र आलो रगत पिउने,
तातो रगत पिउने राक्षसहरू
मन्त्री, प्रधानमन्त्री र नेता हुने देशमा
डा. गोविन्द केसी,
तिमी जन्मिनु नै गलत थियो
दले, झोले, खोले र नबोलेहरुको भीडमा
कसले सुन्छ तिम्रो कुरा ?
कसले बुझ्छ तिम्रो कुरा ?
धेरै पटक मरेका हामी जिउँदा लासहरू,
आर्यघाट पुग्न पालो कुर्नेहरूको भिडमा,
कसले बुझ्छ तिम्रो महात्मा ?
कसले सुन्छ तिम्रा बोलीहरू ?
यो त आँखा देख्ने,
तर अन्धाहरूको अन्धो बस्ती हो !
यो त कान सुन्ने,
तर बहिराहरूको बहिरो बस्ती हो !
सत्य, न्याय, नैतिकता, धर्म,
सबै सबै हराएको बस्ती हो
अपराधीहरूका पछि लागेर
राम्रो कर्म हराएको बस्ती हो
डा. केसी, भो अब भ्रम नपाल
व्यर्थैमा हामी जिउँदा लासहरूका लागि
तिम्रो अमूल्य जीवन नफाल
किनकि, यो विवेक गुमाएको बस्ती हो
हामी जस्ता जिउँदा मुर्दाहरूको बस्ती हो !

– रामप्रसाद खनाल


एउटा डाक्टर यस्तो पनि !!

के देख्नु परेको यो
आफ्नो केही मतलब छैन
न घर
न परिवार
न श्री सम्पत्ति
न श्रीमती
बिहे नै नगर्ने को सन्तानको के कुरा !
एउटा कमिज
त्यसको साथी पाइन्ट
नफाटुन्जेल पालो पाउँदैनन्
कुनै दिन मिठो नखोज्ने मुख
कस्तो होला कुन्नि !
अचम्मको मान्छे भनूँ या पागल !
आफ्ना लागि होइन
दूर दराजका लागि
गरिब दुखीका लागि
नसक्नेका लागि
आवाज उठाउँछ उ
न आफ्ना लागि केही माग्छ उ
न दिएका पद लिन्छ उ
एक जोर चप्पल पड्काउँदै
झोलामा औषधी बोकेर
गाउँ पस्छ
बिकटमा बस्छ
निःशुल्क जाँच गर्छ
आफ्नै खल्ती खाली गर्छ
गुन्द्री र चकटीमा बस्छ
मिठो नमिठो खान्छ
सेवा गर्छ
न प्रचार खोज्छ
न युट्युब र मिडिया बोक्छ
बाढी, पहिरो, हैजा, महामारी
पीडित जन खोज्दै हिँड्छ उ
यस्तो पनि डाक्टर हुँदो रहेछ
यस्तो पनि प्राध्यापक हुँदो रहेछ
यस्तो पनि अझ,
डाक्टरहरूको पनि गुरु हुँदो रहेछ
गरिब दुखी जन देखेर रुँदो रहेछ
उनीहरू सँगै आँसुले मुख धुँदो रहेछ
यो जमानामा आफ्नो लागि होइन
जन जनका लागि आवाज उठाउने उ
पागल हो या सज्जन
यस्तो पनि मान्छे जन्मिने रहेछ
यो घनघोर कलियुगमा
यो सबै देख्दा देख्दै सुन्दा सुन्दै
म अन्यौलता छु आजकल
सत्तारुढ उसलाई पागल भन्छन्
प्रतिपक्षी त्यही भन्छन्
स्वास्थ्य क्षेत्रका दले दाइहरू
दले भाइहरू
तिनीसँग साँठगाँठ गर्ने हरू
उसको मृत्यु पुकार्छन्
तर उ धेरै पटक
मरेर पनि बाँचेको छ
हड्डी र छाला मात्र साँचेको छ

फेरी अनशन बस्यो रे !
दले दाइ भाइ र उनका मालिकहरू
फेरी शोकमा डुबेकाछन रे
उनीहरू भन्दैछन रे,
यो पागललाई काल किन आउँदैन हँ ???!!!