अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 19:58

नेपालद्धारा भारतमा १० करोड ७० लाख युनिट बिजुली निर्यात , चुहावट १५ प्रतिशत नजिक

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५९ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षमा बिजुली आयात घटाएको छ भने निर्यात बढाएको छ । प्राधिकरणले गएको वर्ष २०७६/०७७ मा १० करोड ७० लाख युनिट विद्युत् भारतमा निर्यात गरेको छ । केही वर्षभित्रै विदुतमा आत्मनिर्भर भइ नेट निर्यात सुरु गरिने प्राधिकरणले जनाएको छ । अहिले इनर्जी बैंकिङ अवधारणमा बिजुली निर्यात भएको हो । आर्थिक वर्ष २०७२/०७३ मा ३१ लाख ५० हजार युनिट निर्यात भएको थियो ।

निर्यात बढिरहँदा भारतबाट आयात हुने बिजुली भने घट्दै गएको छ । देशमा १४ घण्टासम्म लोडसेडिङ हुँदा देशभित्र कुल विद्युत् खपतको झण्डै ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर विद्युत् खपत झण्डै ८० प्रतिशतले बढेको अवस्थामा पनि आयातको प्रतिशत ३७ प्रतिशत हाराहारीमा थियो ।

गएको वर्ष बिजुली आयात २२ प्रतिशतमा सीमित भएको छ । आगामी वर्ष ५ देखि १० प्रतिशतमा मात्रै सीमित हुने प्राधिकरणले जनाएको छ ।

यस्तै विद्युत् प्राधिकरणले चुहावट १५ प्रतिशत नजिक झारेको छ । आर्थिक वर्ष २०७२/०७३ मा प्रणालीमा रहेको २५ दशमलव ७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर आर्थिक वर्ष २०७६/०७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू