नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ । विगतका योजनाहरु अगाडि बढाउन अहिलेको स्रोत र सीमाहरु अर्याप्त रहेकाले नयाँ योजनका लागि बजेट छुट्याउन सक्ने अवस्था नभएको बैंकले बताएको हो ।
पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । नयाँ योजनाहरुका लागि थप प्लानिङ गर्नुपर्ने र विगतमा तयार भएका योजनालाई पुनः प्राथमिकिकरण गर्नुपर्ने उहाको भनाई थियो । सबै योजना पहिलाजस्तै गरी अहिले टाइमलाइनमा जान समस्या रहेको अधिकारीले बताउनुभयो ।
सरकारले पुनर्कर्जाको सीमा पनि विस्तार गरेको छ । पुर्नकर्जाको सीमा विस्तार गरी १ खर्ब पुर्याउने निर्णय सरकारले गरेको हो । पुनर्कर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने चालु पूँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन पनि सरकारले राष्ट्र बैंकलाई भनेको छ ।
