देशब्यापी “लकडाउन”का कारण पोखरामा अलपत्र परेका ५८ विदेशी पर्यटकलाई बुद्ध एयरमार्फत उद्धार गरि काठमाडौं लगिएको छ । सरकारले एक साताका लागि आन्तरिक उडानमा प्रतिबन्द लगाएपनि उद्धारका उडान संचालन गरी उनीहरुलाई उद्धार गरिएको हो ।
कोरोना नियन्त्रण तथा रोकथानका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितिले बुधबार देशका विभिन्न ठाउँमा अलपत्र परेको विदेशी नागरिकको उद्धार गरी उनीहरुकै देश फिर्ता गर्ने निर्णय गरेको थियो। स्रोतका अनुसार बुद्ध एयरले उद्धार गरेका पर्यटकहरुमा अधिकांश फ्रान्सेली नागरिक छन्। फ्रान्सले आफ्ना नागरिकलाई चार्टर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको छ। बिहीबार नै तारा एयरले पनि लुक्लाबाट १५ विदेशीलाई उद्धार गरि काठमाडौँ लगेको छ।
घरेलु विमान कम्पनीले देशका विभिन्न स्थानमा छरिएर रहेका विदेशीलाई काठमाडौँ ल्याएपछि सम्बन्धित देशको पहलमा उनीहरु स्वदेश फर्कने छन्। विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश लगिरहेका बेला नेपालले भने विदेशमा रहेका आफ्ना नागरिकलाई फर्कन प्रतिबन्ध लगाएको छ।