अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६ | Colorodo: 17:41

‘कोरोनाभाइरस’बारे जानकारी गराउन सरकारद्धारा २४ घन्टे ‘कल सेन्टर’ स्थापना

बिआरटीनेपाल २०७६ फागुन ३० गते ७:२६ मा प्रकाशित

‘कोरोनाभाइरस’बारे सर्वसाधारणलाई जानकारी दिन सरकारले ललितपुरको जाउलाखेलमा २४ घन्टे ‘कल सेन्टर’ स्थापना गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाभाइरसबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कल सेन्टर स्थापना गरेको हो ।

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाभाइरसबारे नकारात्मक हल्ला र भ्रम फैलिएका कारण कल सेन्टर स्थापना गरिएको जानकारी गराउनुभयो । कोरोनाभाइरसबारे कुनै प्रश्न भए कल सेन्टरको १११५ नम्बरमा फोन गर्न सकिने बताईएको छ ।

डा. पाण्डेकाअनुसार कल सेन्टरमा ६ जना कर्मचारी राखिएको छ । उनीहरुले सर्वसाधारणले सोधेको प्रश्नको जवाफ दिनेछन् । स्वास्थ्य सेवा विभागमा आवश्यक तयारी नपुगेका कारण जाउलाखेलमा राखिएको भन्दै डा. पाण्डेले तयारी पूरा भएपछि टेकुमा सार्ने बताउनुभयो ।

यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल कोरोनाभाइरसको आशंकामा चारजनालाई ‘आइसोलेसन’कक्षमा राखिएको छ भने दुईजनालाई पाँच दिनदेखि ‘क्वारेन्टाइन’मा राखिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४५० जनाको कोरोनाभाइरसको परीक्षण गरेको जनाएको छ । संक्रमण भने एकजनामा मात्र भेटिएको थियो । प्रयोगशालाले परीक्षणका लागि दुईओटा ल्याब तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू