उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको छ । कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना हुने भन्ने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई उपलब्ध गराउन मन्त्री लेखराज भट्टले आग्रह गर्नुभयो ।
शनिबार काठमाण्डौमा आयोजित साक्षत्कारमा बोल्दै मन्त्री भट्टले खाना पकाउने ग्यास, पोट्रोलियम पदार्थ, नुन र चिनी लगायतका अत्यावश्यक वस्तु बजारमा प्रयाप्त रहेको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनैपनि औषधिको अभाव नहुने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनैपनि वस्तुको अभाव नरहेको बताउनुभयो ।
