अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

पर्वतबाट १० टन लप्सी अमेरिका निर्यात

बिआरटीनेपाल २०७५ फागुन २१ गते ६:११ मा प्रकाशित

लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतबाट यो वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी संकलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकहरूको लप्सी खरिद गरेर प्रशोधन गर्दै आएको छ ।

उद्योगबाट उत्पादित माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार निर्यात गरिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो । यो वर्ष उद्योगले कुल १३० टन लप्सी संकलन गरेकोमा अहिलेसम्म ६० टन लप्सी प्रशोधनपछि बजारमा गएको छ भने ७० टन लप्सी प्रशोधनको क्रममा छ । गत वर्षको यही समयसम्म ४० टन मात्र लप्सी प्रशोधन गरेको उद्योगले यस वर्ष अघिल्लो वर्षको तुलनामा २० टन बढी प्रशोधन गरिसकेको छ ।

उद्योगले पर्वत र बागलुङ जिल्लाबाट लप्सी संकलन गरेर प्रशोधनपछि देशका विभिन्न जिल्लासहित विदेशमा पनि निर्यात गर्दै आएको छ । यो वर्ष प्रशोधित लप्सीको बिक्रीबाट कम्तीमा पनि २० लाख रुपैयाँभन्दा बढी कमाइ हुने अपेक्षा गरिएको छ । २०५८ सालमा स्थापना भएको उद्योगमा बर्सेनी नाफा बढ्दै गएको छ । उद्योग स्थापना भएपछि बसाइँसराइँ र अन्य कारणले पनि बाँझो रहेका जिल्लाका पाखाबारी तथा खाली जमिनमा लप्सी लगाउने होड चलिरहेको छ । केही वर्षअघिसम्म बोटबाटै झरेर कुहिने गरेको लप्सीले आजभोलि मूल्य पाउन थालेपछि कृषकहरुलाई राहत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू