अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

उपभोक्ता समितिमार्फत् ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरू

बिआरटीनेपाल २०७५ फागुन २० गते ३:३२ मा प्रकाशित

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण शुरू गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण थालेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने जानकारी दिनुभयो।

उहाँले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गर्नुभएको छ । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताउनुभयो ।
रानीपोखरी पुनर्निर्माणमा ४० जना कालिगढ खटिएका छन्। समितिका अध्यक्ष स्थापितले आवश्यकता अनुसार कालिगढहरूको संख्या बढाउने बताउनुभयो । काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताउनुभएको छ ।

पुनर्निर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ । रानीपोखरीको पिँध एवम् पर्खाल निर्माण उपभोक्ता समितिमार्फत् र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू