काठमाडौंः प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको छलफल जारी छ । बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हरिराज अधिकारीले सङ्घीयतालाई कमजोर पार्ने मनसाय घुसेर बजेट आएको भन्दै आलोचना गरे । प्रदेशमा थोरैमात्र व्यवस्था गरिएको बजेटले सङ्घीयतालाई आत्मसात् गर्न नसकेको टिप्पणी गर्दै उनले कम्युनिस्टहरू सत्तामा आएपछि वृद्धभत्ता बढ्छ भन्ने जनतामा आशा रहेको थियो तर पूर्ण बहुमतको सरकार आए पनि वृद्ध भत्ता नबढ्नु दुःखद हो भने ।
स्थानीयस्तरमा कर्मचारी जान नमानेको अवस्थामा तलब बढ्न नसक्दा मनोबल झन् कमजोर हुने अधिकारीको जिकिर थियो । नेकपाकै अर्का सांसद महेश्वरजङ्ग गहतराजले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई व्यवस्था गरिएको रु चार करोड बजेट आवश्यक नभएको भन्दै फिर्ता लिन माग गरे ।
बैठकमा काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दुई कम्युनिस्ट दलले निर्वाचनमा देखाएका सपना र दुई दल मिलेपछि के के न हुन्छ भन्नेहरू यतिखेर निराश छन् भने । बिरामी हुँदा साटिमोल नपाउने जनताका लागि मोनोरेलका कार्यक्रमले केही गर्न सक्दैन भन्दै उनले बजेटले प्राथमिकता तोक्न नसक्नु, सङ्घीयता सुदृढ गर्ने कार्यक्रम अघि बढाउन नसक्नु, केन्द्रमा बढी र प्रदेशमा कम बजेट तोक्नु यसको कमजोरी हो भने ।
प्रधानमन्त्रीको कार्यालयमा मात्र ११ दशमलव ८८ प्रतिशत बजेट छुट्याउने चाहना के हो भनी प्रश्न गर्दै बडूले प्रधानमन्त्री कार्यालयलाई सल्लाह दिन थिङ्क ट्याङ्कको व्यवस्था गरिए राष्ट्रिय योजना आयोगको के काम के हुन्छ भनी प्रश्न गरे ।
उनले प्रदेश नं ७ मा आधारभूत सडकका योजनालाई पनि बजेटले समेट्न नसक्नु दुःखद भएको बताए । नेकपाका सांसद राधा ज्ञवालीले संविधानका मौलिक हक कार्यान्वयन गर्र्ने उद्देश्य र प्राथमिकता तोकेको भनी बजेटको प्रशंसा गरिन । ज्ञवालीले बजेटले कृषि र ऊर्जालाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि सारेको बताउँदै आयात कम गर्न र व्यापार घाटा कम गर्न ऊर्जामा लगानी बढाउनुपर्ने सुझाव दिइन ।
स्वतन्त्र सांसद छक्कबहादुर लामाले भौतिकलगायत विभिन्न क्षेत्रबाट पिछडिएको कर्णाली प्रदेशका लागि बजेटले आवश्यकताअनुसार कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले कृषिमा पर्याप्त बजेट र कार्यक्रम नभएसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै बजेटले तराई मधेसमा सिँचाइ र नदी नियन्त्रणका कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । ।
काँग्रेस नेतृत्वको यसअघिको सरकारले बाढीपीडितको राहतका लागि संयन्त्र बनाएको भए पनि अहिले त्यो संयन्त्रको बारेमा बजेटमा केही उल्लेख नहुनु दुःखद पक्ष भएको उनको टिप्पणी थियो । सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले स्थानीय पूर्वाधार विकासका नाममा व्यवस्था गरिएको रु चार करोड बजेट अर्थमन्त्रीले दान दिएको जस्तो सोचेको र आफूहरूलाई पनि भिख पाएको जस्तो महसुस भएको बताए ।
अर्थमन्त्रीका अभिव्यक्ति र सामाजिक सञ्जालमा देखिएका टिप्पणीले सांसदहरूलाई अपमान गरेको जस्तो महसुस भएको बताए । काँग्रेसका सांसद विनोद चौधरीले मुुलुकमा बेरोजगारीको भयावह अवस्था रहेको परिवेशमा ल्याइएको बजेटले रोजगारी बढाउने उल्लेखनीय कार्यक्रम ल्याउन नसकेको भन्दै मुलुकभित्रका उत्पादनलाई प्रोत्साहन गरेरमात्र आयातमुखी व्यापार कम गर्न सकिने धारणा व्यक्त गरे ।
तत्कालीन सरकारले २०४८ सालपछि लागू गरेको उदारमैत्री लगानी नीतिले मुलुकका राजश्व सङ्कलन र रोजगारी सिर्जना भएको भन्दै उनले मुलुक समृद्धिका लागि त्यही उदार लगानी नीतिको बाटोलाई पछ्याउनु पर्ने सुझाव दिए । केही प्रदेशको आम्दानी ज्यादै न्यून रहेको भन्दै सांसद चौधरीले त्यस्ता प्रदेशलाई विशेष बजेटको व्यवस्था गर्न नसके विकास सन्तुलित हुन नसक्ने बताए ।
काँग्रेसका सांसद जिपछिरिङ लामाले निर्माण व्यवसायीका कामका बारेमा जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयले सूचना माग गरिएको सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्दै स्वदेशी निर्माण व्यवसायीलाई सरकारले अवसर र प्रोत्साहन दिनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरू चन्द्रकान्त चौधरी, दामोदर भण्डारी, अमनलाल मोदी, गङ्गा चौधरी सत्गौवा, उमेश चौधरी, दुर्गाकुमारी विश्वकर्मालगायतले बजेटका सम्बन्धमा आ आफ्ना धारणा राखेका थिए ।
अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते सङ्घीय संसद्मा आगामी आवको राजश्व र व्ययको वार्षिक विवरण प्रस्तुत गरेका थिए । प्रतिनिसिभामा बजेटमाथिको छलफल बिहीबारदेखि सुरु भएको हो।