रुसले भेनेजुयलामा बढ्दै गएको राजनीतिक तथा मानवीय संकट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले शनिबार बताउनुभएको हो ।
विदेश मन्त्री लाभरोभले जारी गरेको वक्तव्यमा भेनेजुयलाका बारेमा आफूले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफल गरेको उल्लेख गर्नुभयो । लाभरोभले पोम्पेओसँग टेलिफोनमा कुराकानी गर्दै भेनेजुयलाको अवस्था, सङ्कट समाधानको उपायलगायतका बारेमा कुराकानी गरेको पनि जानकारी दिनुभयो ।
‘भेनेजुयलाका बारेमा मैले वासिङ्टनसँग छलफल गरेको छु, अमेरिकासँग भेनेजुयलाको संकट समाधानको निकास निकाल्न सकिन्छ, तर राष्ट्रसंघीय घोषणापत्रलाई भने मान्नु पर्दछ,’ लाभरोभले वक्तव्यमार्फत् भन्नुभएको छ ।
संयुक्तराज्य अमेरिकाले विपक्षी नेता गुवाइदोलाई मान्यता दिँदै उनको नेतृत्वका लागि कुटनीतिक अभियान चलाएको छ । रूसले भेनेजुयलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने पनि रूसी विदेश मन्त्री लाभरोभले बताउनुभयो । ‘हामीले अत्यधिक निकटमा रहेर भेनेजुयलाको समस्याबारे अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौं,’ लाभरोभको भनाई छ । उहाँले थप्नुभएको छ , ‘वर्तमान समयमा भेनेजुएलाको आन्तरिक मामिलामा निर्लज्जरूपमा वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र यसमा उसलाई सहयोग गर्नु महत्वपूर्ण कार्य हो ।’
आर्थिक तरलताले विक्षिप्त बनेको भेनेजुयलामा प्रतिपक्षी नेता हुवान गुवाइदोले गत जनवरीमा आफूलाई स्वघोषित रूपमा अन्तरिम राष्ट्रपति घोषणा गरेका कारण उक्त मुलुक राजनीतिक संकटतर्फ गइरहेको छ। मडुरोले वैधानिकता गुमाएको दाबी गुवाइदोले गर्दै आएका छन्। मडुरो र उहाँका रूस लगायतका सहयोगीले भेनेजुयलाको सरकारविरूद्ध वासिङ्टनले राज्य विद्रोह ‘कू’ प्रयास गराएको आरोप लगाउँदै आएको छ ।
