अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

रुससँगको आईएनएफ सन्धि तोडेको अमेरिकाको घोषणा

बिआरटीनेपाल २०७५ माघ १९ गते ६:४६ मा प्रकाशित

अमेरिकाले रुससँग भएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स (आईएनएफ) सन्धि तोडेको घोषणा गरेको छ । सन् १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन्धिमा हस्ताक्षर गर्नुभएको थियो । आईएनएफले जमिनबाट मार हान्ने मध्यम दूरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्छ । शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निसस्त्रीकरणमा ठूलो झट्का मानिएको छ ।

लामो समयदेखि रुसलाई धम्काउँदै आएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्त्यमा कडा रवैया देखाउँदै आईएनएफ सन्धि स्थगित गरिदिएको बीबीसीले जनाएको छ । रुसले वर्षौंसम्म यो सन्धिको उल्लंघन गरेर अमेरिका र यूरोपको सुुरक्षालाई संकटमा पारेको अमेरिकाको आरोप छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरुले सन्धिको पालना गरिरहे पनि अर्को पक्षले पालना नगरेकाले सन्धि स्थगित गरिएको बताउनुभयो । उहाँले जबसम्म दोस्रो पक्षले सन्धिको पालना गर्दैन तबसम्म आफूहरुले पनि नगर्ने स्पष्ट पार्नुभयो ।

अमेरिकाले सन्धि तोडेको निर्णयमा नेटोले पनि समर्थन गरेको छ । रुसले भने अमेरिकाको निर्णयको निन्दा गरेको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको यो निर्णयलाई अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताको हनन् भनेको छ । उसले अमेरिकाले रुसलाई लगाएको आरोप आधारहीन भनेर टिप्पणीसमेत गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले अमेरिकाले कुनै प्रमाण विना रुसलाई आरोप मात्र लगाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय