अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 07:37

मेक्सिकोमा पहिलो महिला राष्ट्रपतिको रूपमा क्लाउडिया शेनबाम विजयी

बिआरटीनेपाल २०८१ जेठ २२ गते ६:२४ मा प्रकाशित

मेक्सिकोका नागरिकले इतिहासमा पहिलो पटक राष्ट्रपतिमा महिलालाई निर्वाचित गरेका छन् । आज सकिएको मतगणनामा क्लाउडिया शेनबाम लगभग ६० प्रतिशत मतका साथ विजयी भएको बीबीसीले जनाएको छ ।मेक्सिको सिटीका पूर्व मेयर समेत रहनुभएकी शेनबामले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको देखिएको छ । निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन ।

अहिले निर्वाचित हुनुभएकी शेनबामले आउँदो अक्टोबरको १ तारिखदेखि कार्यभार सम्हाल्नुहुनेछ । अहिले मेक्सिकोभर उहाँका समर्थकले विजयको उत्सव मनाइरहेका खबरमा उल्लेख छ । ऊर्जा वैज्ञानिकसमेत रहनुभएकी शेनबामले मेक्सिकोका अहिलेका राष्ट्रपति लोपेज ओब्राडोरले गरेका राम्रा कामलाई निरन्तरता दिने प्रतिज्ञा गर्नुभएको छ ।मेक्सिकोको दुई सय वर्षको प्रजातान्त्रिक इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नु आफ्ना लागि मात्र नभई सारा मेक्सिकन महिलाका लागि गर्वको दिन भएको नवनिर्वाचित राष्ट्रपति शेनबामले बताउनुभएको छ ।

मेक्सिकोमा महिलाका लागि यो चुनावको नतिजालाई ठूलो परिवर्तनको रूपमा वर्णन गरिएको रोयटर्सले जनाएको छ । राष्ट्रपति पदमा उम्मेदवारी दिनुअघि शेनबाम मेक्सिको सिटीको पहिलो महिला मेयर हुनुहुन्थ्यो जुन देशको सबैभन्दा प्रभावशाली राजनीतिक पदहरूमध्ये एक हो । अहिलेसम्मका लगभग सबैजसो राष्ट्रपति मेक्सिको सिटीकै पूर्वमेयर रहेका छन् । यो चुनावका क्रममा मेक्सिकोमा फैलिएको दङ्गामा परेर अहिलेसम्म ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । मेक्सिकोमा हिंस्रक तस्करहरूको समूहलाई नियन्त्रण गर्नु नै नवनिर्वाचित राष्ट्रपति शेनबामको मुख्य चुनौतीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू