उत्तर कोरियाले फोहोरले भरिएका करिब ६०० बेलुन सीमामा पठाएको सियोलको सेनाले आइतबार जनाएको छ । सुरक्षाकर्मीले चुरोटका बट्टादेखि प्लास्टिकसम्म रहेका उक्त फोहोरका बेलुन संकलन गरिरहेका छन् । “उत्तर कोरियाले शनिबार साँझ ८ बजेदेखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो,” सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएफ)ले एक विज्ञप्तिमा भनेको छ ।
आइतबार बिहान करिब १० बजेसम्म प्रतिघण्टा लगभग २० देखि ५० का दरले ६०० बेलुन हावामा उडिरहेका पहिचान गरिएको थियो । बेलुनहरू राजधानी सियोल र ग्योन्गीछेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबास गर्ने क्षेत्र हो ।
उत्तर कोरियाले यस हप्ताको सुरुदेखि फोहोर बोकेका सयौँ बेलुन दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङयाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ ।“हाम्रो सेनाले बेलुन छोडिएका स्थानहरूबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरू संकलन गर्दै छ,” विज्ञप्तिमा उल्लेख छ ।उत्तर कोरियाले मंगलबारदेखि फोहोर भरिएका करिब ९०० बेलुन दक्षिणतर्फ पठाएकामा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसीएफले जनाएको छ ।