अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 09:24

दिल्लीमा सेन्सर बिग्रिएका कारण तापक्रम ५२ डिग्रीभन्दा धेरै देखाएको पाइयाे

बिआरटीनेपाल २०८१ जेठ २० गते ४:५० मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा अघिल्लो हप्ता ५२ दशमलव ९ डिग्री सेल्सियस तापक्रम नपुगेको पुष्टि भएको छ ।अघिल्लो हप्ता नयाँ दिल्लीको मुङ्गेशपुरको मौसम स्टेशनले तापक्रम ५२ दशमलव ९ डिग्री सेल्सियस पुगेको देखाएपछि भारत मात्र नभई संसारभरको ध्यान तानिएको थियो । त्यसपछि भारतीय मौसम विज्ञान विभागले गरेको अनुसन्धानले सेन्सरको त्रुटिका कारण तापक्रम ३ डिग्री सेल्सियसले बढी देखाएको पाइएको जनाएको रोयटर्सले जनाएको छ ।विज्ञान मन्त्री किरेन रिजिजुले मुङ्गेशपुरको मौसम स्टेशनको सेन्सरको त्रुटिका कारण सही तथ्याङ्क नआएको र ३ डिग्री सेल्सियस धेरै देखिएको बताउनुभएको छ ।

गएको बुधवार मुङ्गेशपुरको तापक्रम ४९ डिग्री सेल्यिसभन्दा धेरै रहेको भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० ले जनाएको छ । तर दिल्लीको तापक्रको रेकर्ड भने गएको बुधवार नै तोडिएको थियो । त्यो दिन दिल्लीको एउटा स्टेशनले ४९ र अर्कोले ४९ दशमलव १ डिग्री तापक्रम मापन गरेका छन् । यो तथ्याङ्क सही भएको विभागले जनाएको छ ।

नयाँ दिल्लीमा यसअघि रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम सन् १९९८ को मे ९ तारिखमा ४८ दशमलव ४ डिग्री सेल्सियस थियो । केही दिनदेखि भारतका केही भागमा गर्मीले रेकर्ड तोडिरहेको छ । गर्मीकै कारण अस्ति उत्तर प्रदेश, बिहार र पूर्व ओडिशामा निर्वाचन अधिकारीहरूसहित कम्तीमा ३३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू