प्यालेस्टाइनी कट्टरपन्थी इस्लामिक समूह हमासका कतारस्थित प्रमुख इस्माइल हनिया र टर्कीका विदेशमन्त्री हकान फिदानबीच शनिबार भेटवार्ता भएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासि आक्रमण गर्दा कम्तीमा एक हजार १४० जनाको मृत्यु भएको थियो । हमासका लडाकुले करिब २५० जनालाई कब्जामा लिएका थिए ।इजरायल र हमासबीच जतिसक्दो चाँडो युद्धविराम गर्नु छलफलको मुख्य विषय भएको टर्कीसम्बद्ध स्रोतले जनाएको छ ।
भेटका क्रममा ‘मानवीय सहायता बढाउने र स्थायी शान्तिका निम्ति दुई–राज्य समाधान’का विषयमा छलफल गरिएको जनाइएको छ ।हनिया र फिदानबीच पछिल्लोपटक अक्टोबर १६ मा फोनवार्ता भएको थियो ।हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलद्वारा गाजामा हमला जारी छ । हमासलाई ध्वस्त पार्ने इजरायलको भनाइ छ ।
इजरायलले गरेको लगातारको बमबारी र स्थल आक्रमणका कारण गाजामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका हुन् ।इस्तानबुलले अक्टोबर ७ को आक्रमणअघि हमासका राजनीतिक नेताहरूको आधारका रूपमा काम गर्दथ्यो । इजरायलको इतिहासकै सबैभन्दा घातक आक्रमणको उत्सव मनाउँदै गरेको भिडियोमा टर्कीको भू–भाग कैद भएपछि टर्कीले हमासका प्रमुखलाई देश छोड्न भनेको थियो ।
तर, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन गाजामा भइरहेको मृत्यु र विनाशको परिमाणको मुस्लिम विश्वको सबैभन्दा कठोर आलोचक बनेका छन् । र्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई एडोल्फ हिटलरसँग तुलना गर्दै अमेरिकाले प्यालेस्टाइनीको ‘नरसंहार’लाई प्रायोजन गरेको आरोप लगाएका छन् ।