रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनाव लड्ने हुनुभएको छ । समाचार संस्था रोयटर्सले ६ जना स्रोतसँग कुराकानी गर्दै सोमबार छापेको समाचारअनुसार सन् २०३० सम्म शक्तिमा रहने गरी पुटिन चुनाव लड्न लाग्नुभएको हो ।
पुटिन गत अक्टोबर ७ मा ७१ वर्षको हुनुभएको थियो । रोयटर्सका अनुसार पुटिनका सल्लाहकारहरू निर्वाचनको तयारीमा लागिरहेका छन्। पुटिनका लागि राष्ट्रपतीय चुनाव आधिकारिकता मात्रै हुने र यदि चुनाव लडे उहाँले जित्ने निश्चित नै रहेको सञ्चार माध्यमहरूले जनाएका छन्।
पुटिन सन् १९९९ देखि निरन्तर सत्तामा हुनुहुन्छ । उहाँ रूसको इतिहासमा सबैभन्दा लामो सरकार चलाउने नेता समेत बन्नुभएको छ । पुटिन सन् १९९९ देखि २००० सम्म प्रधानमन्त्री बन्नुभएको थियो । राष्ट्रपतिको रूपमा उहाँको पहिलो कार्यकाल सन् २००० देखि २००४ सम्म र सन् २००४ देखि २००८ सम्म दोस्रो कार्यकाल थियो।
सन् २००८ देखि २०१२ सम्म उहाँ दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो । सन् २०१२ मा पुन: उहाँ २०१८ सम्म तेस्रो कार्यकालका लागि राष्ट्रपति हुनुभएको थियो । उहाँ सन् २०१८ देखि अहिलेसम्म चौथो कार्यकालका लागि राष्ट्रपति हुनुहुन्छ ।