अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका आरोपप्रति आक्रोश पोख्नुभएको छ । वासिङ्टन डीसी अदालतमा सुनुवाईका लागि उपस्थित हुनुअघि ट्रम्पले आफूविरुद्धका आरोपहरु आगामी वर्ष हुने चुनाव लक्षित रहेको भन्दै बाइडेन प्रशासनले नैतिक धरातल गुमाइसकेको बताउनुभयो ।
न्युजर्सी गल्फक्लवमा समर्थकहरुबीच बोल्दै उहाँले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरु अहिल्यै अत्तालिएको जिकीर समेत गर्नुभयो । आफूले न्युजर्सीमा अभूतपूर्व समर्थन पाएको भन्दै उहाँले आफ्ना विरोधीहरुलाई यसैगरी जवाफ दिंदै जानुपर्ने बताउनुभयो ।
पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध सन् २०२० को चुनावी परिणाम उल्ट्याउने कोशिस गरेकोलगायत चार वटा थप आरोप लगाइएको छ । उहाँलाई बिहीबार डीसी अदालतमा उपस्थित हुन भनिएको छ । अदालतमा उपस्थित भएपछि उहाँको औंठाछापको बायोमेट्रिक लिएर आरोपहरु सुनाउने अदालतको तयारी रहेको समाचारमा उल्लेख छ ।