रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी १६ वर्षसम्म पदमै रहिरहन बाटो खोल्नु भएको छ । अहिलेको संवैधानिक व्यवस्थामा सन् २०२४ मा पदावधि सकिने भएपछि नयाँ जनमतमार्फत् उहाँले अरु १२ वर्ष कार्यकाल लम्ब्याउन सक्ने व्यवस्था मिलाउनुभएको हो ।एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक गरिएको नतिजा अनुसार राष्ट्रपति पुटिनले चाहँदा आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनु हुनेछ । पुटिनलाई लामो समयसम्म शक्तिमा टिकाईराख्न बनाइएको नयाँ संवैधानिक व्यवस्थाका पक्षमा ठूलो मत परेको हो ।
आफ्नो कार्यकाल लम्ब्याउन मिल्ने संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याउनुभए पनि मतदान भने हालै मात्र गराइएको हो । अप्रिल २२ का लागि तय गरिएको मतदानको मिति कोरोना भाइरसको संक्रमणका कारण जुन १ का लागि सारिए पनि हुन सकेको थिएन । तर अहिले भने मतदानसमेत सकाएर नतिजा सार्वजनिक गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार अब राष्ट्रपति पुटिन थप दुई कार्यकाल शक्तिमै रहन सक्नुहुनेछ । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उहाँले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलाइएको हो । दुई दशकदेखि एकछत्र शासन गरिरहनु भएका ६७ वर्षीय पुटिन क्राइमियालाई रुसमा गाभेपछि झन् लोकप्रियता कमाउनु भएको छ । आफ्ना विरोधीहरुको आवाज निर्ममतापूर्वक दबाउने गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ ।
रुसी सत्ता भ्रष्टाचारमा लिप्त रहेको भन्दै आवाज उठाइरहनु भएका विपक्षी नेता नभाल्नीसहितलाई उहाँले पटक पटक जेलमा कोच्नु भएको छ । आफूलाई चुनौति दिने व्यक्तिलाई चुनावी मैदानमा उत्रनै नदिन पुटिनले अनेकन हत्कण्डा अपनाउने गरेको आरोप लाग्ने गरेको छ ।
