अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 10:57

राष्ट्रपति ट्रम्प पनि प्रहरीले घाँटी थिच्न नपाउने व्यवस्थाको पक्षमा

बिआरटीनेपाल २०७७ जेठ ३० गते २१:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था ‘सामान्य रुपमा’ बन्द गरिनु पर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्नुभएको छ । मिनेशोटाको मिनियापोलसमा गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई स्थानीय प्रहरीले पक्रने बेला घुँडाले घाँटीमा झण्डै ९ मिनेट थिचेका थिए ।

सोही कारण फ्लोइडको निधन भएको थियोे । त्यसपछि प्रहरी ज्यादती तथा रंगभेद विरुद्ध अमेरिकासहित विश्वभर प्रदर्शन भइरहेको छ । सो घटनापछि अमेरिकाका कतिपय प्रहरीले घाँटी थिच्ने कार्यमा प्रतिबन्ध लगाएका छन् । डेमोक्र्याटले प्रस्ताव गरेको प्रहरी सेवा सुधार सम्बन्धी विधेयकमा पनि घाँटी थिच्न प्रतिबन्ध लगाउने उल्लेख गरेको छ ।

ट्रम्पका अनुसार घाँटी थिच्न प्रतिबन्ध लगाउनु अति राम्रो हुनेछ तर अझै पनि केही अवस्थामा भने सो आवश्यक हुन सक्छ । फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले घाँटी थिच्न नपाउने गरी गरिएको प्रस्ताव उत्कृष्ट र निष्पक्ष रहेको देखिएको बताउनुभयो ।

प्रदर्शनलाई दबाउन सुरक्षा बल प्रयोग गरेकोमा तीव्र आलोचनाको सामना गरिरहेका ट्रम्पमाथि प्रहरी प्रशासनमा सुधार गर्न चर्को दबाब परेको छ । डेमोक्र्याटले प्रस्ताव गरेको सुधार सम्बन्धी विधेयकमा अधिकांश रिपब्लिकन पनि सहमत देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय