जापानका विभिन्न ३९ प्रान्तमा लगाईएको आपतकाल हटाईएको छ । प्रधानमन्त्री सिन्जो आबेले अप्रिल १६ गतेबाट जारी आपतकाल हटेको घोषणा गर्नुभएको हो । जापानको राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा आबेले उक्त घोषणा गर्नुभएको हो । यद्धपि कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइ नसकेकाले सजगता अपनाउन उहाँले नागरिकलाई आग्रह गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै १ महिना अघि प्रधानमन्त्री सिन्जो आबेले केही प्रान्तमा आपतकालको घोषणा गर्नुभएको थियो । त्यसलगत्तै जापान सरकारले देशब्यापी आपतकाल लागू गरेको थियो । सल्लाहकार परिषद र बिज्ञहरुसँगको छलफलपछि प्रधानमन्त्री आबेले ३९ प्रान्तमा आपतकाल अन्त्यको घोषणा गर्नुभएको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।
जापानको राजधानी टोकियोसहित ओसाका, होक्काइदो, कानगावा, साइतामा, चिबा, क्योटो र ह्योगो लगायतका आठ क्षेत्रहरूमा भने आपतकाल यो महिनाको अन्त्यसम्म यथावत रहने बताईएको छ । यसैबीच, कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सरकारले चालेका कदमलाई साथ दिएको भन्दै आबेले देशबासी सबैलाई आभार ब्यक्त गर्नुभएको छ ।