अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 08:11

लिबियामा सरकारी सुरक्षा फौजको कारवाहीमा ७० जना विद्रोही सैनिक मारिएको दावी

बिआरटीनेपाल २०७७ वैशाख २८ गते ७:३७ मा प्रकाशित

लिबियाली सरकारी सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा ७० विद्रोही सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त सेनाले पूर्वी इलाकामा समानान्तर सत्ता चलाउँदै आएको सैनिक जनरल खालिफा हफ्तर पक्षधर सैनिकलाई लक्षित गरी गरेको आक्रमणमा सैनिक नेता हफ्तरको सेनातर्फ ठूलो क्षति भएको हो । हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको छ भने केही घाइते भएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।

वायुसेनाले राजधानी त्रिपोलीबाट १८० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा रहेको वात्या हवाई शिविर र आपूर्ति नाकाहरुमा ६ राउण्ड हवाई आक्रमण गरेको बताइएको संयुक्त राष्ट्रसंघीय सरकारको सेनाका प्रवक्ता मोहम्मद गोनोनोले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

वायुसेनाले सैन्य सवारी साधनहरूलाई लक्षित गरी हफ्तरको प्रभाव क्षेत्रमा आक्रमण गरेको र आक्रमणबाट ७० भन्दा बढी सैनिक हताहत भएको विज्ञप्तमिा जनाइएको छ । जनरल हफ्तरको नेतृत्वमा रहेको पूर्वी सेनाले एक वर्षभन्दा बढी समयदेखि राजधानी त्रिपोलीलाई संयुक्त राष्ट्र संघीय सरकारको कब्जामा लिने प्रयास गरिरहेको छ । यो आक्रमणका कारण सयौं नागरिक पनि घाइते भएका र विस्थापित बनेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय