अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 08:15

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाद्धारा महामारी नियन्त्रणमा ‘अस्तव्यस्त’ अमेरिकी प्रयासको कडा आलोचना

बिआरटीनेपाल २०७७ वैशाख २७ गते २२:०१ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयास अपर्याप्त भएको भन्दै कडा आलोचना गर्नुभएको छ । एक निजी कन्फ्रेन्स कलमा ओबामाले अमेरिकाले हाल महामारी नियन्त्रणका लागि गरेका कामहरु ‘स्पष्टरुपमा अस्तव्यस्त विपद’ जस्तो रहेको बताउनुभएको हो ।

पूर्व राष्ट्रपति ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनको पक्षमा आफूले बिस्तारित भूमिका निर्वाह गर्न चाहेको पनि बताउनुभयो । ओबामाले यसअघि नै राष्ट्रपति उम्मेदवारीमा आफ्नो समर्थन बाइडेनलाई रहेको घोषणा गरिसक्नुभएको छ । बाइडन ओबामा कार्यकालमा उपराष्ट्रपति हुनुहुन्थ्यो । आफ्ना पूर्व कर्मचारी तथा सहयोगीहरुसँगको कन्फ्रेन्स कलको क्रममा ओबामाको पछिल्लो टिप्पणी आएको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ ।

ओबामाले आफ्ना पूर्व कर्मचारीहरुलाई बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गर्नुभएको छ । डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी थप भयानक बनेको ओबामाले बताउनुभयो । वर्तमान प्रशासनले महामारीमा पनि आफ्नो ‘स्वार्थ’ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको ओबामाको भनाई उद्धृत गर्दै कन्फ्रेन्स कलमा सहभागीले बताएका छन् ।

ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज गरिएको घटनाको पनि कडा आलोचना गर्नुभएको छ । अमेरिकी न्याय विभागले सन् २०१६ को चुनावमा ट्रम्पलाई फाइदा हुने गरी रुसले गरेको भनिएको दखलमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोग लागेका फ्लीनमाथिको आरोप खारेज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय