अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 02:07

बलिउड अभिनेता इरफान खानको ५४ बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७७ वैशाख १७ गते ७:२८ मा प्रकाशित

बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि गर्दै परिवारले जारी गरेको वक्तव्यमा इरफानले जीवनको अन्तिम क्षण परिवारका सदस्यको बिचमा बिताएको उल्लेख छ । वक्तव्यमा लेखिएको छ, ‘उनले जीवनको अन्तिम क्षमण आफ्ना प्रियजन, उनले सबैभन्दा ख्याल गर्ने परिवारका सदस्यबाट घेरिएर बिताए ।’

मंगलबार अस्पताल भर्ना गरिएपछि पनि खानको स्वास्थ्य के कारणले बिग्रियो वा समस्या के भएको हो भन्ने खुलाइएको थिएन । इरफान खानका प्रवक्ताले वक्तव्य जारी गरेर भनेका थिए, ‘यो सत्य हो कि इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई कोलन इन्फेक्सन भएको छ । हामी जानकारी दिँदै जाने छौँ ।’

पाँच दिनअघि (अप्रिल २५) इरफानकी आमा सईदा बेगमको निधन भएको थियो । लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारका लागि जयपुर जान पाएका थिएनन् । उनी भिडियो कल मार्फत आमाको अन्तिम यात्रामा सामेल भएका थिए ।

५४ वर्षका इरफान गएको वर्ष लण्डनबाट मुम्बई फर्किएका थिए । उनी एक वर्ष लण्डनमा उपचार गराएर फर्किएपछि काममा सक्रिय हुन थालेका थिए । मुम्बई फर्किएपछि उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा उपचार तथा नियमित चेक गर्दै आएका थिए । उनलाई सन् २०१८ को मार्चमा न्यूरोएण्डोक्राइन ट्युमर भएको थियो । त्यसपछि लण्डनमा उपचार गराएर उनी मार्च २०१९ मा मुम्बई फर्किएका थिए ।

यसैबीच, खानको बुधबार अपराह्न अन्त्येष्टि गरिएको छ। मुम्बईको बर्सोवास्थित ‘कब्रस्थान’मा उनको अन्तिम बिदाइ गरिएको हो। अन्त्येष्टिमा उनका दुई छोराका साथै आफन्त तथा निकटका साथीहरु सहभागी भएका थिए। लकडाउनका कारण उनको अन्त्येष्टिमा धेरै मानिसहरुको सहभागिता भने भएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय