अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीर बिरामी परेको भन्ने कुरा आफूलाई सत्य नलागेको बताउनुभएको छ । कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा बिहीबार ह्वाइट हाउसमा ट्रम्पले उत्तर कोरियाका नेता किमको स्वास्थ्य सम्बन्धी टिप्पणी गर्नुभयो ।
पछिल्लो केही दिनदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेता किम गम्भीर बिरामी परेको र जीवनसँग संघर्ष गरिरहेको दाबीसहितका खबर आएका छन् । तर ट्रम्पले भने ती खबरहरु सत्य नरहेको हुन सक्ने बताउनुभएको हो । अहिले किमको स्वास्थ्य सम्बन्धी विभिन्न दाबीसहित आएका खबरहरु पुरानो जानकारी वा तथ्यसँग सम्बन्धित रहेको ट्रम्पले उल्लेख गर्नुभयो । तर उहाँले नेता किम वा त्यहाँका अधिकारीसँग आफ्नो सम्पर्क भए नभएको जानकारी भने दिनुभएन ।
यसअघि मंगलबार ट्रम्पल नेता किमको स्वास्थ्यबारे बुझ्न उत्तर कोरियाका अधिकारीलाई आफूले सम्पर्क गर्न सक्ने बताउनुभएको थियो । उहाँले उत्तर कोरिया र नेता किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको र उनी ठीक छन् भन्ने आश रहेको पनि बताउनुभएको छ ।
गएको सोमबार दक्षिण कोरियाको सिओलको डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उहाँ कहाँ हुनुहुन्छ भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा देखिनुभएको छैन ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुरा खारेज गरेका छन् । पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा हुनुहुन्छ ।