विश्वविख्यात वैज्ञानिक गीता रामजीको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित हुनुभएका दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको मंगलबार निधन भएको हो । एचआइभी संक्रमितको जीवन रक्षाका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेकी रामजीको निधनले ठूलो नोक्सानी बेहोर्नु परेको युएनएड्सले जनाएको छ ।
उहाँले महिलालाई एचआइभीको संक्रमणबाट जोगाउने तथा उपचारमा पहुँच पुर्याउने अभियानका लागि आफ्नो अनुसन्धान केन्द्रित गर्नुभएको थियो । उहाँको ६४ वर्षको उमेरमा निधन भएको हो ।
युएनएड्सकी प्रमुख विनी ब्यायनिमाले प्राध्यापक रामजीको निधन विश्वमा रामजीको आवश्यकता अधिक रहेका बेला भएको बताउनुभएको छ ।
विश्वमा सबैभन्दा धेरै एचआइभी संक्रमित भएको देश हो दक्षिण अफ्रिका । अहिले दक्षिण अफ्रिका कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तीन हप्ते लकडाउनमा छ । एचआइभी विरुद्धको उपचार पत्ता लगाउने अभियानमा वैज्ञानिक रामजीको महत्वपूर्ण भूमिका छ।