अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 13:37

भारतको बिहारमा कोभिड १९ को संक्रमणका कारण १ जनाको मृत्यु , देशभर जनता कफ्र्यु

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:०७ मा प्रकाशित

भारतको बिहार राज्यको राजधानी पटनामा एक जना व्यक्तिको कोभिड १९ को संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । एम्स अस्पताल, पटनामा उपचारको क्रममा ति व्यक्तिको मृत्यु भएको थियो । शनिबार नै मृत्यु भए पनि उनको परिक्षण रिपोर्ट आज आउँदा उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

कतारबाट फर्किएका ३८ वर्षीय ती व्यक्तिसँगै एम्समा उपचाररत अर्को एक महिलामा पनि संक्रमण रहेको पुष्टि भएको छ । कोभिड १९ संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि भारतका कैयौं राज्यमा लकडाउन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज भारतभर जनता कफ्र्यु पालना गरिएको छ । प्रधानमन्त्री मोदीको आह्वानको समर्थन गर्दै नागरिक घरबाट बाहिर निस्किएका छैनन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमण अहिलेसम्म विश्वका १८० भन्दा बढी देशमा फैलिइसकेको छ । आज दिउँसोसम्म भाइरसको संक्रमणबाट १३ हजार ६९ को मृत्यु भइसकेको छ भने ३ लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै संक्रमितमध्ये ९५ हजारभन्दा बढी निको भइसकेका छन् ।

यसैबीच, भारतले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न आज देखि १० दिनका लागि यात्रुवाहक रेलसेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको रेल मन्त्रालय अन्तर्गतको रेल्वे बोर्डको बैठकले त्यस्तो निर्णय लिएको हो ।

कोरोना पुष्टि भएका १२ जनाले अघिल्लो साता रेलबाट यात्रा गरेको पुष्टि भएपछि बोर्डले यस्तो निर्णय लिएको बताइएको छ । बोर्डको निर्णय अनुसार १८ चैतसम्म रेल सेवा बन्द रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू