चीनले तीन जना अमेरिकी पत्रकारलाई देश निकाला गरेको छ । अमेरिकी पत्रिकासँग आबद्ध तीनै जना पत्रकारलाई चीनले देशबाट निष्कासन गरेको हो । अमेरिकाले केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि त्यसको जवाफ भन्दै चीनले पनि पत्रकारमाथि रीसईबी साँधेको हो । द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारलाई सञ्चारकर्मी अनुमतिपत्र फिर्ता गर्न दश दिने समयसीमा दिइएको छ ।
चिनियाँ विदेश मन्त्रालयले चीनमा उनीहरूले गरिरहेको गतिविधिको सूचना दिन पनि निर्देशन दिएको छ । उनीहरुलाई हङ्कङ र मकाउमा पनि काम गर्न नपाइने गरी मन्त्रालयले बन्देज लगाएको जनाइएको छ । चीनको यस कदमलाई अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले दूर्भाग्यपूर्ण भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन् । गत महिना मात्र कोरोना भाइरसका बारेमा लेखिएको सम्पादकीयलाई लिएर चीनले द वाल स्ट्रिट जर्नलका दुई जना पत्रकारलाई निष्कासन गरेको थियो ।