चीनको उहानबाट शुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) को भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।
करिब दुई करोड जनसंख्या रहेको नयाँदिल्लीमा कोरोना संक्रमण देखिएको यो नै पहिलो ‘केस’ हो। युरोपेली मुलुकहरुमध्ये इटालीमा कोरोना सक्रंमण अत्यधिक देखिएको छ । त्यहाँ हालसम्म १७०० भन्दा बढीमा संक्रमण भएको पुष्टि भइसकेको छ भने ४१ जनाको मृत्यु भएको छ।
त्यसैगरी मन्त्रालयले दक्षिण भारतीय राज्य तेलंगनामा पनि अर्को एकजनामा कोभिड–१९ भएको फेला परेको छ। मन्त्रालयका अनुसार ती व्यक्ति पछिल्लो समय दुबईबाट स्वदेश फर्केका थिए। पछिल्लो दुईवटा ‘केस’ समेत गर्दा भारतमा हालसम्म पाँजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसअघि केरलाका तीनजनामा संक्रमण देखिएको थियो। र, क्वारान्टाइनमा राखिएको उनीहरु उपचारपछि संक्रमणबाट मुक्त भइसकेका छन्।
गत पुसको दोस्रो साता वुहानबाट फैलिएको यो भाइरसको संक्रमण विश्वभरका ८९ हजारभन्दा बढी पहिचान भइसकेको छ। चीनमा मात्र यो संक्रमणबाट २९१२ जनाको र अन्य सयभन्दा बढीको मृत्यु भइसकेको छ। त्यसैगरी इरान र कोरियामा पनि कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ।
अमेरिकामा पनि कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । र, त्यहाँ ८८ जनामा संक्रमणको पुष्टि भएको छ। नेपालमा भने हालसम्म एकजनामा मात्र संक्रमण देखिएको थियो। र, ती संक्रमित व्यक्ति पनि उपचार पछि निको भइसकेका छन्।