कोरोना भाइरसका कारण हङकङमा एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो ।
हङकङमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको बारेमा विस्तृत जानकारी आइसकेको छैन । यता, चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।