अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

कोलोराडोमा नेपथ्यको कन्सर्ट सम्पन्न

बिआरटीनेपाल २०८१ साउन २१ गते ६:३६ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा चर्चित व्याण्ड नेपथ्यले आफ्नो कन्सर्ट प्रस्तुत गरेको छ । सातवटा शहरहरुमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासहित साँगीतिक यात्रामा निस्केको नेपाली लोक रक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा सम्पन्न भएको छ । कार्यक्रममा ब्याण्डका लोकप्रिय गीतहरु ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ , ‘कोशीको पानी यो जिन्दगानी’ ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ लगायतका गीतहरु प्रस्तुत गरिएको थियो ।

चालिस दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम सफल भएको ब्याण्डका प्रमुख अमृत गुरुङले बताउनुभयो । ‘पर्वतीय राज्य कोलोराडोको बोल्डरले काठमाडौलाइ भगीनी शहर घोषणा गरेको तथ्यले समेत कार्यक्रममा थप आत्मीयता बढाएको उहाँले बताउनुभयो ।

कन्सर्टमा ब्याण्डका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । स्थानीय आयोजक ‘कोशेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा अहिलेसम्म आयोजित कार्यक्रममध्ये सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको प्रतिक्रिया दिएको छ ।

अमेरिका यात्राको प्रथम कन्सर्ट सफलरुपमा सम्पन्न भएसंगै नेपथ्यको अबको दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ । त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।

कोलोराडोमा कार्यक्रमको आयोजना कोसेली कोलोराडोले गरेको थियो ।

 

प्रतिक्रिया