काठमाडौँ । चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा बिहीबार एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाका मुख्य कलाकार अटाएका छन् । विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिबन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ ।
प्रेमसँगै आमाको आशिवार्द र निर्दयी समाजको कथा सिनेमाको ट्रेलरले सङ्केत गरेको छ । विपिनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् । ‘कर्मा’मा विपिन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो चलचित्रमा भास्कर स्वाँरको सङ्गीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्र निर्माता कोलोराडोका वसन्त लम्साल हुन । उनी कोलोराडोमा रहेको नेपाली संस्था नेपाली घरको वर्तमान अध्यक्ष हुन ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बस्यालको पग्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्य: च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।