अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 04:57

अमेरिकी सरकारको सार्वजनिक ऋण पहिलो पटक ३ सय ५० खर्ब डलर पुग्यो

बिआरटीनेपाल २०८१ साउन १५ गते ७:४२ मा प्रकाशित

अमेरिकी सङ्घीय सरकारको कुल सार्वजनिक ऋण पहिलो पटक ३५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । अमेरिकाको ट्रेजरी विभागले हिजो सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार अमेरिकी सरकारको ऋण इतिहासमा पहिलो पटक ३५ ट्रिलियन डलर अर्थात् ३ सय ५० खर्ब डलर पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।सात महिनाअघि सन् २०२३ को डिसेम्बरमा अमेरिकी राष्ट्रिय ऋण ३ सय ४० खर्ब डलर पुगेको थियो । त्यसभन्दा तीन महिनाअघि सेप्टेम्बरमा पनि अमेरिकाको ऋण इतिहासमा पहिलो पटक ३ सय ३० खर्ब डलर पुगेको थियो । यसले अमेरिकी ऋण निकै तीव्र गतिमा बढिरहेको देखाएको छ ।

सङ्घीय बजेट समितिका अध्यक्ष माया म्याकगुइनेसले अहिलेको सरकारले ऋण लिने मात्रै काम गरेर लापरबाही गरिरहेको आरोप लगाउँदै अब खतराको घण्टी बज्ने जोखिम रहेको चेतावनी दिनुभएको छ । अमेरिकाले सामना गरिरहेको खतरामध्ये सार्वजनिक ऋण प्रमुख विषय बनिरहेको र यो बारेमा राष्ट्रपति र अन्य सबै जिम्मेवार निकाय गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

पिटर जी पिटरसन फाउन्डेशनका अनुसार यो ऋण अमेरिकी जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति १ लाख ३ हजार नौ सय ४५ डलर हुन जान्छ । सरकार ऋणमा डुब्दै जाँदा सामाजिक सुरक्षाका कार्यक्रम प्रभावित हुने चिन्ता थपिएको पनि खबरमा उल्लेख छ । अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानदाता तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वअधिकारी डेस्मन्ड लाचम्यानले अमेरिकी बजेट घाटा असह्य बाटोमा रहेकोमा कुनै शङ्का नभएको उल्लेख गर्नुभएको सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू