अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 08:54

जापानले सन् २०२४ को पहिलो ६ महिनामा कीर्तिमानी सङ्ख्यामा पर्यटक भित्र्यायाे

बिआरटीनेपाल २०८१ साउन ४ गते ७:५६ मा प्रकाशित

जापानले सन् २०२४ को पहिलो ६ कीर्तिमानी सङ्ख्यामा विदेशी पर्यटक भित्र्याएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनले यो वर्षको ६ महिनामा एक करोड ७७ लाख ८० हजार जना पर्यटक आएका र यो सङ्ख्या कोरोना महामारीअघिको यही अवधिको तुलनामा १० लाखभन्दा बढी भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१९ को जनवरीदेखि जुन महिनासम्मको ६ महिनामा जापानले एक करोड ६६ लाख ३० हजार जना पर्यटकलाई स्वागत गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कमजोर येनले अहिले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकलाई जापानी परम्परागत कपडा किमोनोस, खानालगायतले आकर्षित गरिरहेको खबरमा उल्लेख छ । अहिले क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ ।

यसैबीच जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रिपरिषद् बैठकमा पर्यटकलाई ग्रामीण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभएको छ । जापानले सन् २०२४ मा तीन करोड ५० लाख जना विदेशी पर्यटक भित्र्याउने अपेक्षा गरेको छ । कोरोना महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ मा दुई करोड ५० लाख जना पर्यटक जापान आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू