अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

भारतमा धार्मिक स्वतन्त्रताको अवस्था खराब, अल्पसङ्ख्यक समुदायका घर/पूजास्थल भत्काउने घटना बढ्याे : प्रतिवेदन

बिआरटीनेपाल २०८१ असार १४ गते ५:५९ मा प्रकाशित

विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ ।अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वभरका मानिसहरू यसको संरक्षणका लागि कडा मेहनत गरिरहेका बताउनुभएको बीबीसीले जनाएको छ । यो प्रतिवेदनमा विश्वका झन्डै दुई सय वटा देशको धार्मिक अवस्थाको मूल्याङ्कन गरिएको र अहिले करोडौँ मानिसले धार्मिक स्वतन्त्राको सम्मान नगर्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार भारतमा धार्मिक अल्पसङ्ख्यक समुदायका घर तथा पूजास्थलहरू भत्काउने घटना बढेको छ । यस्तै प्रतिवेदनले भारतको धर्म परिवर्तन विरोधी कानुनको बारेमा पनि चिन्ता व्यक्त गरेको खबरमा उल्लेख छ ।यसअघि प्रकाशित प्रतिवेदनमा पनि यस्तै कुरा भनिएको थियो । यद्यपि भारतले यसअघि नै यस्ता समाचारलाई अस्वीकार गर्दै आएको छ । यसअघिको विज्ञप्तिमा भारतको विदेश मन्त्रालयले यो प्रतिवेदन प्रकाशित गर्ने आयोगलाई पक्षपाती भएको बताएको थियो ।

प्रतिवेदनका अनुसार सन् २०२३ मा भारतमा धार्मिक स्वतन्त्रताको अवस्था खराब रहेको थियो । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले विभेदकारी राष्ट्रवादी नीतिलाई बढावा दिँदा समाजमा घृणा बढेको उल्लेख छ ।प्रतिवेदनका अनुसार भारतमा यूएपीए, एफसीआरए, सीएए, धर्म परिवर्तन र गौहत्या विरोधी कानुनका कारण धार्मिक अल्पसङ्ख्यक र उनीहरूका वकिलहरूलाई निशाना बनाइएको छ । यस्तै प्रतिवेदनमा सन् २०२३ को जुन महिनामा मणिपुर राज्यमा भएको हिंसा, सरकारले कश्मिरी पत्रकार, धार्मिक नेता र मानव अधिकार पक्षधरहरूलाई हिरासतमा राखेको कुरा पनि उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू