अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

गाजामा युद्ध चलिरहँदा इजरायलकाे ‘वार क्याबिनेट’ भङ्ग

बिआरटीनेपाल २०८१ असार ४ गते ७:२५ मा प्रकाशित

गाजामा युद्ध चलिरहँदा इजरायलको युद्ध मन्त्रिपरिषद् अर्थात ‘वार क्याबिनेट’ भङ्ग भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छ सदस्यीय युद्ध मन्त्रिपरिषद् भङ्ग गरेको एक जना इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । गएको अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलमा सबै दललाई समेटेर युद्ध मन्त्रिपरिषद्को गठन भएको थियो । तर नेतान्याहुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गएको हप्ता मन्त्रीहरू बेनी ग्यान्ट्ज र गादी इसेनकोटले राजीनामा दिएका थिए । उनीहरू सेनाका पूर्वप्रमुख पनि हुन । युद्ध मन्त्रिपरिषद्का प्रमुख सदस्य रहेका दुई जनाले राजीनामा दिएपछि आज प्रधानमन्त्रीले मन्त्रिपरिषद् नै भङ्ग गरेको खबरमा उल्लेख छ ।

अब नेतान्याहुले बहुमत पनि गुमाउने जोखिम रहेको छ । उहाँले आजै नयाँ मन्त्रिपरिषद्को बारेमा छलफल गर्ने तयारी गर्नुभएको छ । इजरायलमा कुनै पनि दलको बहुमत नहुँदा सरकार बनाउन विभिन्न दलहरू मिल्नुपर्ने बाध्यता छ । केही दलले गाजामा इजरायलले गरिरहेको अमानवीय आक्रमण रोक्नुपर्ने र केहीले गाजा हमासको अखडा भएकाले यसलाई ध्वस्त पार्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री समस्यामा परेको खबरमा उल्लेख छ ।

गएको अक्टोबर ७ तारिखमा हमासका लडाकुले इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायली आक्रमणबाट ३७ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू