संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्कटग्रस्त महासागरलाई बचाउनका लागि तत्कालै कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । महासागर दिवसको अवसरमा एक सन्देश जारी गर्दै महासचिव गुटेरेसले अहिले संसारका धेरै महासागर सङ्कटमा परेकाले तत्कालै संरक्षणको आवश्यकता रहेको बताउनभयो । समुद्र रहे मात्रै पृथ्वीमा जीवन सम्भव रहेको भन्दै महासचिव गुटेरेसले समुद्रको विनाशमा मानिसकै हात रहेको उल्लेख गर्नुभएको छ ।
समुद्रलाई बिगार्ने काम गर्दा साना द्वीप र तटीय क्षेत्र मात्रै नभई समग्र पृथ्वीकै चक्रमा असर पुग्ने उहाँले बताउनुभयो । अहिले पृथ्वीमा सबैलाई अत्याउने गरी बढिरहेका मौसमी घटनाहरूमा पनि समुद्रको विनाश नै जोडिएको महासचिव गुटरेशको भनाइ छ ।
अस्थिर तटीय विकास, अत्यधिक माछा मार्ने, गहिरो समुद्री खानी, अनियन्त्रित प्रदूषण र प्लास्टिक फोहोरले विश्वभर समुद्री पर्यावरणको विनाश गरिरहेको छ । गुटेरेसले विश्वका सरकार, व्यवसाय, लगानीकर्ता, वैज्ञानिक र समुदायलाई बहुमूल्य समुद्री र तटीय पर्यावरण जोगाउन अपिल गर्नुभएको छ ।