इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको विनास नभएसम्म गाजा युद्धको अन्त्य नहुने बताउनुभएको छ । युद्धको अन्त्यका निम्ति इजरायलको अवस्था परिवर्तन नभएको उहाँले जनाउनुभयो । उहाँले हमासको विनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको निश्चित गर्ने विज्ञप्तिमार्फत जनाउनुभयो ।
शनिबारै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धविरामका निम्ति नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताउनुभएको थियो। उहाँले युद्धविराम तीन चरणको प्रस्तावमा ६ हप्तादेखि गाजाका सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने उल्लेख गर्नुभयो ।
युद्धको अन्त्यसँगै सयौं प्यालेस्टाइनी कैदीको मुक्तिको बदलामा महिला, वृद्धवृद्धा, घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले बताउनुभयो । उक्त प्रस्तावमा इजरायल र प्यालेस्टाइनीले स्थायी युद्धविरामका निम्ति ६ हप्तामा वार्ता गर्ने र त्यसक्रममा युद्धविराम जारी रहने बाइडेनले जनाउनुभयो । हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मक रूपमा लिएको जनाइएको छ ।