अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 07:47

विदेशी विद्यार्थीको सङ्ख्या घटाउने क्यानडेली आप्रवासन मन्त्रीको संकेत

बिआरटीनेपाल २०८० माघ २ गते ८:०१ मा प्रकाशित

क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीको सङ्ख्यालाई सीमित गर्ने संकेत गर्नुभएको छ । गत सप्ताहन्तमा मिडिया अन्तर्वार्ताको श्रृङ्खलामा उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यालाई सीमित गर्न खोजिरहेको उल्लेख गर्नुभएको हो । मन्त्री मिलरका अनुसार संख्या कटौतीबारे प्रान्तहरूसँग पनि कुराकानी भइरहेको छ । विभिन्न प्रान्तमा शैक्षिक संस्थाहरूको गतिविधिलाई गम्भीरताका साथ हेर्नुअघि संघीय तहमा संख्या मिलाउन आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।

क्यानडामा सन् २०२३ मा अहिलेसम्मकै उच्च करिब १० लाख विद्यार्थी भर्ना भएका थिए । क्यानाडाको अध्यागमन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार क्यानाडामा भर्ना भएका विदेशी विद्यार्थीहरूको संख्या सन् २०१२ र २०२२ बीचमा १९३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विदेशी विद्यार्थीको सङ्ख्या अत्यधिक बढेसँगै क्यानडाले आवास र रोजगारीको समस्यासँग जुधिरहेको छ । बीबीसीका अनुसार पछिल्लो दुई वर्षमा आवासको निरन्तर अभावले आवासa भाडा २२ प्रतिशतले बढेको छ ।

आवास समस्या सम्बोधन गर्न सरकारले २०२३ मा विदेशीलाई क्यानडामा घर किन्न दुई वर्षको प्रतिबन्ध लगाएको थियो ।अध्यागमन मन्त्री मिलरले क्यानडामा भित्रिएको विद्यार्थीको सङ्ख्यालाई ‘निराशाजनक’ भन्नुभएको छ र, सरकारले चालेको कदमलाई ‘नियन्त्रण बाहिर गएको प्रणाली’ लाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले यस वर्षको पहिलो र दोस्रो त्रैमासिकमा आवासको माग घटाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा सीमा तोक्ने सम्भावनाबारे विचार गर्ने स्पष्ट पार्नुभयो ।यो कति हुन्छ भन्नेबारे भने सरकारले विचार गरिरहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू