अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 09:46

भारतलाई माल्दिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह- मार्च १५ भित्र सेना फिर्ता लैजानू

बिआरटीनेपाल २०८० माघ १ गते ६:४७ मा प्रकाशित

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशमा तैनाथ भारतीय सेनालाई मार्च १५ सम्म हटाउन आग्रह गर्नुभएको छ । माल्दिभ्सस्थित भारतीय दूतावासका अधिकारीहरूलाई राष्ट्रपति मुइज्जुले औपचारिक रूपमा आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न आग्रह गरेको उहाँका सहयोगी अब्दुल्ला नजिम इब्राहिमले पत्रकारहरूसमक्ष भन्नुभयो । आइतबार राजधानी मालेमा बसेको द्विपक्षीय उच्चस्तरीय बैठकमा माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नुपर्ने विषयमा छलफल भएको थियो।

चीन भ्रमणबाट फर्किएलगत्तै राष्ट्रपति मुइज्जुले भारतलाई लक्षित गर्दै ठूला देशहरू साना देशमाथि हेप्ने लाइसेन्सप्राप्त नहुने बताएका थिए। दोस्रो दिन नै उहाँले भारतले सेना फिर्ता लैजानुपर्ने बताउँदै त्यसका लागि भारतीय दूतावासलाई आग्रह गर्नुभएको हो । माल्दिभ्सका टापुमा कम्तिमा ७५ जना भारतीय सैनिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारत सरकारले सन् २०२०मा दिएको सैनिक विमान सञ्चालन गर्नका लागि सन् २०२१ देखि भारतीय सेना माल्दिभ्सको टापुमा बस्दै आएका छन्। उनीहरूले विशेषगरी उद्धारको काममा ती विमानहरू प्रयोग गर्ने बताएको छ।

माल्दिभ्सले ती सैनिक फिर्ता गर्न आग्रह गरेको हो। राष्ट्रपति चुनावअघि नै माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो। त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बन्नुभएको हो । महिनौंसम्म उनको पार्टीले ‘इन्डिया आउट’ को अभियान समेत चलाएको थियो।उहाँले विपक्षी दलका नेताहरूले राष्ट्रिय सार्वभौमसत्तासँग सम्झौता गर्दै भारतीय सेनालाई आफ्ना टापुहरूमा बस्न दिएको आरोप लगाउने गर्नुभएको छ । भारतभन्दा चीनतिर बढी झुकाव राख्ने भएकाले उनी निर्वाचित भएपछि भारतसँगको तिक्तता बढ्न थालेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्विप भ्रमणपछि मालदिभ्सका तीन जना उपमन्त्रीहरूले मोदीलाई लक्षित गरी प्रतिक्रिया दिएपछि भने माल्दिभ्स र भारतबीचको विवाद सतहमै देखिएको थियो। त्यसपछि भारतमा बोयकट माल्दिभ्स नारा नै चल्यो। कयौं भारतीयहरूले मल्दिभ्स भ्रमण रद्द गरेको फोटोहरू सामाजिक सञ्जालमा राखेका थिए। मोदी र भारतलक्षित प्रतिक्रिया दिने तीन मन्त्रीलाई बर्खास्त गर्दै माल्दिभ्स सरकारले उनीहरूको अभिव्यक्ति व्यक्तिगत भएको बताएको थियो।

राष्ट्रपति मुइज्जुले भारतको विरोध गर्नु आफ्नो सरकारको नीति नभएको भन्दै मन्त्रीहरूलाई निलम्बन गर्नुभएको हो । बेइजिङ भ्रमणबाट फर्किएका राष्‍ट्रपति मुइज्जुले भने भारत माथिको निर्भरताबाट मुक्त हुने र त्यसका विकल्पहरू खोजिने पनि बताउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य सेवाका लागि थाइल्यान्ड, युएई लगायतका देशमा जान सकिने बताउनुभयो । माल्दिभ्सका जनता उपचारका लागि भारतीय र श्रीलंकन अस्पतालमा जाने गरेका छन्। राष्ट्रपति मुइज्जुले औषधिहरू भने यूरोप र संयुक्त राज्य अमेरिकाबाट सिधै आयात गर्न सकिने बताउनुभयो ।

यसअघि धेरैजसो खाद्य सामग्री भारतबाटै आउने गरेकोमा मुइज्जुले अब टर्कीबाट पनि आयात गर्न सकिने बताएको एपीले जनाएको छ । माल्दिभ्स घुम्न जानेमध्ये ११ प्रतिशत पर्यटक भारतबाट जान्छन्। भारतसँगको सम्बन्ध विग्रिएपछि माल्दिभ्समा पर्यटकको संख्या घट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू