प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएको एक सय दिन पूरा भएको छ । हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले त्यही दिनदेखि हमासविरुद्ध आक्रमण शुरु गरेको थियो । इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण जारी रहने बताएको छ ।हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा झन्डै १२ सयको हत्या गर्नुको साथै दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये एक सय २१ जनालाई छाडिसकेको छ । यस्तै इजरायलको आक्रमणबाट गाजामा २३ हजार आठ सय ४३ जनाको ज्यान गएको छ । उनीहरूमध्ये कम्तीमा नौ हजार छ सय जना बालबालिका र छ हजार सात सय ५० जनाभन्दा धेरै महिला रहेका छन् ।
गाजामा ६० हजार मानिस घाइते भएका छन् । गाजामा ६० प्रतिशत अर्थात् तीन लाख ५९ हजार घर ध्वस्त भएका छन् । गाजामा रहेका झन्डै २३ लाख मानिसमध्ये झन्डै १९ लाख जना पूर्णरूपमा विस्थापित भएका छन् । झन्डै २२ लाख जनाले खाद्य सङ्कटको सामना गरिरहेका विश्व खाद्य कार्यक्रमले जनाएको छ ।गाजाका आधाभन्दा धेरै अस्पताल पूर्णरूपमा बन्द भएका छन् । खुला रहेका अस्पतालले पनि आधारभूतभन्दा बाहेक सेवा दिन सक्ने अवस्था छैन । गाजाका मानिसहरू अहिले युद्धको त्राससँगै भोक, रोग र शाेकको सामना गरिरहेका छन् । उनीहरू बाँच्नै नसक्ने ठाउँमा बाँचिरहेका छन् ।
यसैबीच संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासबीच चलिरहेको युद्धले मानवतामा दाग लागेको बताएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले निकाल्नुभएको विज्ञप्तिमा बितेको सय दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले मानवतामा दाग लागेको उल्लेख छ । विज्ञप्तिमा अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको निन्दा गरिनुका साथै इजरायलले गरेको प्रत्याक्रमणमा मानवतामाथि दाग लागेको उल्लेख छ । गाजामा बालबालिकाको एउटा सिङ्गो पुस्ता आघातमा परेको र यो अवस्था ठिक हुन वर्षाैँ लाग्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।