इजरायलले हमास नियन्त्रित क्षेत्र गाजापट्टीबाट हमासका २ सय सदस्यहरुलाई नियन्त्रणमा लिएको छ । केहीले भने इजरायली सेनासमक्ष आत्मसमर्पण गरेका छन् । इजरायलले गाजापट्टीमा आक्रमण गर्ने क्रममा सर्वसाधारणको भीडमा भेटिएका २ सय जनालाई सोधपुछका लागि भन्दै इजरायल लगेको हो । उनीहमाथि आतंकबादी गतिविधि गरेको आरोप इजरायलले लगाएको छ ।
गत अक्टोबर ७ देखि इजरायलले हमासमाथि गरेको प्रतिआक्रमणकै क्रममा हालसम्म ७ सय बढीलाई नियन्त्रणमा लिइएकोमा केहीलाई भने छोडिसकेको छ । इजरायलले गाजामा हिजो गरेको आक्रमणमा २ सय १ जनाको ज्यान गएको हो भने ३ सय बढी घाइते भएका छन् ।
यता हमासको आक्रमणमा परि थप पाँच इजरायली सेना पनि मारिएका छन् । इजरायलले हाल गाजापट्टीका उत्तरी क्षेत्र पुर्ण रुपमा आफनो नियन्त्रणमा लिएको दाबी गरेको छ । इजरायलले गरेको आक्रमणमा गाजापट्टीमा हालसम्म २० हजार बढीको मृत्यु भइसकेको छ ।