अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक इजरायली नेतृत्वको आलोचना गर्नुभएको छ । इजरायलाई निरन्तर सहयोग गर्दै आएका बाइडेनले पहिलो पटक इजरायलले गाजामा गरेको अन्धाधुन्द आक्रमणसँगै इजरायलले विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गर्नुभएको हो ।मङ्गलबार दाताहरुसंग सहयोग संकलन कार्यक्रममा बाइडनले गरेको टिप्पणी हालसम्मकै कडा हो । इजरायललाई अमेरिकाको साथै युरोप र अन्य मुलुकको पनि समर्थन रहेको तर पछिल्ला अन्धाधुन्ध आक्रमणका कारण भने समर्थन गुमाउँदै गएको बाइडनले उल्लेख गर्नुभयो ।
इजरायलको सैन्य अभियानमा लगाम लगाउन बाइडेनलाई आफ्नै डेमोक्रेटिक पार्टी भित्रबाट दबाब बढ्दो छ । हालै मात्र पनि वाशिंगटनले इजरायललाई आक्रमणमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सचेत गराएको थियो । इजरायली आक्रमणमा हालसम्म गाजामा १८ हजार ४ सय बढी प्यालेस्यायनीले ज्यान गुमाइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको दाबी छ ।