युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चुनावका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताउनुभएको छ । सन् २०२४ मा राष्ट्रपति चुनावका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध जुटेको युक्रेनमा चुनाव गर्ने सही समय नभएको उहाँको भनाइ थियो ।गएको वर्ष द्वन्द्व शुरु भएदेखि मार्सल लअन्तर्गत आउँदो वसन्तमा हुने राष्ट्रपति चुनावसहित सबै चुनाव प्राविधिकरूपमा रद्द गरिएको छ । ‘अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ । यसमा राज्य र नागरिकको भाग्य निर्भर छ’, आफ्नो दैनिक सम्बोधनमा उहाँले भन्नुभयो ।
उहाँले देशलाई विभाजित गर्ने नभएर एकताबद्ध हुने समय भएको बताउँदै भन्नुभयो, ‘अहिले चुनावका लागि सही समय होइन भन्ने मेरो विश्वास छ ।’युक्रेनमा रुसी सेना पसेसँगै युक्रेनी सेनाले जवाफी हमला गरे पनि युद्धरत दुवै पक्षबीच सीमा रेखा झन्डै एक वर्षदेखि स्थिर रहेको छ । युक्रेनका प्रमुख सहयोगी अमेरिका र युरोपका अधिकारीहरूले २० महिनादेखि जारी सङ्घर्ष अन्त्यका लागि कुराकानी गर्न सुझाव दिएको बताइएको छ ।
तर युक्रेनको जवाफी हमलामा गतिरोध उत्पन्न भएको वा पश्चिमी देश वार्तामा प्रवेश गर्न किएभतिर फर्केको भन्ने कुरालाई राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गर्नुभएको छ । अमेरिका र अन्य सहयोगीहरूले आवश्यकता भएसम्म रुसलाई पराजित गर्न किएभलाई सैन्य र वित्तीय सहयोग जारी रहने सार्वजनिकरूपमा भन्दै आएका छन् । अक्टोबर ७ मा इजराइलमाथि हमासले आक्रमण गरेपछि विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएसँगै जेलेन्स्की तीव्र दबाबमा पर्नुभएको छ ।
सन् २०१९ को चुनावबाट निर्वाचित राष्ट्रपति जेलेन्स्कीले आवश्यक परेको अवस्थामा आउँदो वर्ष राष्ट्रिय चुनाव गराउन आफू तयार रहेको सेप्टेम्बरमा बताउनुभएको थियो । उहाँले चुनावका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुमति दिने पक्षमा आफू रहेको समेत उल्लेख गर्नुभएको थियो । विदेशमा ठूलो सङ्ख्यामा युक्रेनी र युद्ध मोर्चामा लडिरहेका सैनिकका कारण चुनाव गराउन तार्किकरूपमा कठिन हुनसक्छ । युद्ध शुरु भएपछि जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन उच्च थियो तर युद्धमा एकताबद्ध शक्ति भए पनि देशको राजनीतिक परिदृश्य अस्थिर भएको छ ।
रुसविरुद्ध जवाफी हमला सुस्त गतिमा भएकोमा जेलेन्स्कीको आलोचना गरेपछि राष्ट्रपतिका पूर्वसहयोगी ओलेक्सी एरोस्टोभिचले आफ्ना पूर्वप्रमुखसँग चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ ।