इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या ९ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा ३ हजार ७६० बालबालिका र २ हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या ९ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिनुभयो ।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उहाँले बताउनुभयो। गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुआतदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्गकिलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो । इजरायलमा जसकारण कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । यसको जवाफमा इजरायली सेनाले गाजापट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो । उसले प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।