ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । गाजामा हजारौँ सर्वसाधारणको हत्या गरेर अमानवीय हर्कत गरेको भन्दै बोलिभियाले इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको हो ।बोलिभियाका उपरक्षामन्त्री फ्रेडी मामानीले पत्रकार सम्मेलनमा इजरायलसँगको सम्बन्ध तोडेको घोषणा गर्दै गाजा पट्टीमा इजरायलको आक्रामक र अत्यधिक सैन्य आक्रमणको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । यस्तै बोलिभियाले गाजामा आफ्नो देशले मानवीय सहायता पठाउने पनि जनाएको छ । तर इजरायलले भने बोलिभियाको निर्णयको कडा निन्दा गर्दै यसलाई ‘आतङ्कवादसमक्ष आत्मसमर्पण’ भनेको छ ।
इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हयातले कुटनीतिक सम्बन्ध तोड्ने बोलिभियाली सरकारको निर्णय आतङ्कवाद र इरानको आयोतुल्ला शासनविरुद्ध आत्मसमर्पण भएको आरोप लगाउनुभएको छ । यसअघि दक्षिण अमेरिकी देश कोलम्बिया र चिलीले इजरायलबाट आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेका थिए ।