अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 10:28

इजरायलीकाे खोजी गर्दै भीडले गर्‍यो रुसको एक विमानस्थलमा आक्रमणः ६० जना पक्राउ

बिआरटीनेपाल २०८० कार्तिक १३ गते ७:०६ मा प्रकाशित

मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए । ‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान छन्) भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतवार मखाचकाला विमानस्थलमा ढोका र अवरोधहरू तोडेर धावनमार्गमा आएका थिए । आन्तरिक मन्त्रालयले शान्ति कायम गर्ने प्रयास गर्दा ९ प्रहरी घाइते भएको र तीमध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।

हिंसाका कारण इजरायलले आफ्ना नागरिकहरूको सुरक्षाका लागि रुससँग आग्रह गरेको छ । अमेरिकाले भने ‘यहुदी विरोधी प्रदर्शन’को निन्दा गरेको छ ।उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले तेल अविवबाट रेड विङ्ग्सको एउटा उडान आइतबार साँझ ७ बजे मखाचकालामा अवतरण भएको सङ्केत दिएको छ । स्वतन्त्र रुसी मिडिया आउटलेट स्रोका अनुसार उक्त विमान ट्रान्जिटका लागि अवतरण भएको र दुई घन्टापछि पुनः मस्कोका लागि उडान भर्न लागेको थियो ।

दागेस्तानका गर्भनर सर्गेई मेलिकोभले उक्त घटनामा जिम्मेबार व्यक्तिहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दागेस्तानको आन्तरिक मन्त्रालयले पछि ६० जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो । ‘हमलामा एक सय ५० भन्दा बढी सहभागी भएको पहिचान भएको छ, तीमध्ये ६० जनालाई पक्राउ गरिएको छ,’ मन्त्रालयले सोमबार बिहान एक विज्ञप्तिमा भनेको छ, ‘अहिले विमानस्थल सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा छ ।’

रुसको उड्डयन कार्यालयले सुरुमा नोभेम्बर ६ सम्म विमानस्थल बन्द हुने बताएको थियो तर पछि मङ्गलवार पुनः खोल्ने जानकारी दिएको थियो । आइतवार साँझ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो, ‘रुसी अधिकारीहरूले सबै इजराइली नागरिक र यहुदीहरूको रक्षा गर्नेछन्, दङ्गाकारीविरुद्ध निर्णायक कारवाही गर्नेछन् र यहुदी तथा इजरायलीहरूविरुद्ध हिंसा भड्काउनेविरुद्ध कारवाही गर्नेछन् भन्नेमा इजराइलको अपेक्षा छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू