अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

आफ्ना नागरिक ल्याउन मध्यपूर्वमा सेना र विमान पठाउँदै अस्ट्रेलिया

बिआरटीनेपाल २०८० कार्तिक ८ गते ४:०५ मा प्रकाशित

मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ । रक्षामन्त्री रिचर्ड माल्र्सले ‘ठूलो सङ्ख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य सङ्ख्याबारे जानकारी दिनुभएन । दुई वटा सी–१३० जे हरकुलस विमान तैनाथ गरिएको उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री समेत रहेका माल्र्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाउनुभएन । विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी–१७ए ग्लोबमास्टर यातायात विमान र केसी–३० एयर रिफ्युलर थप्ने बताइएको छ । ‘मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्याउनु यसको उद्देश्य हो,’ उहाँले भन्नुभयो ।इजराइल–हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि शुरू गरेको आश्चर्यजनक आक्रमणका कारण शुरू भएको हो । युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन् ।

अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजराइलबाट बाहिर निकालिसकिएको छ । रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँका अनुसार तिनीहरूलाई छोड्न भनिएको छ ।

मध्यपूर्वमा अस्ट्रेलियाको सैन्य उपस्थितिको एउटा लामो इतिहास छ । अस्ट्रेलियाली सेनाले इराक र सिरियामा इस्लामिक स्टेट समूहसँग लड्ने संयुक्त कार्यबलमा सैनिकहरूलाई योगदान दिने गरेको छ । उक्त कार्यबलले इराकी सुरक्षा फौजलाई प्रशिक्षण दिँदै आएको छ । यसअघिको कट्टरपन्थी सरकारअन्तर्गत अस्ट्रेलियाले सन् २०२० मा एसिया–प्रशान्त क्षेत्रमा आफ्नो रक्षा प्रतिबद्धताहरूमा ध्यान केन्द्रित गर्ने बताएको थियो । परिणामस्वरूप सो सरकारले मध्यपूर्वमा एउटा नौसैनिक जहाजको वार्षिक परिचालनलाई रोकेको थियो । यसबाट नेभिगेसन र सुरक्षाको स्वतन्त्रताको समर्थन गर्ने ३० वर्षको प्रतिबद्धता अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू