सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका सरकार नियन्त्रित क्षेत्रका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किएका छन् ।सिरियाको शिक्षा मन्त्रालयले विद्यार्थीका लागि विद्यालय पोसाकमा कडा नियम लागू नगर्न आग्रह गरेको त्यहाँको समाचार संस्था, सानाले जनाएको छ ।सिरियामा झण्डै ३७ लाखभन्दा धेरै विद्यार्थीका लागि १४ हजार ५ सय ५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र शुरू भएको छ । सन् २०११ देखि भइरहेको युद्धका कारण सिरियाको शैक्षिक पूर्वाधारमा व्यापक विनाश भएको छ । जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको छ । बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ । विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् झण्डै २४ लाख बालबालिका विद्यालय गएका छैनन् भने अन्य १६ लाख बालबालिका विद्यालय छाड्ने जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकायले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सिरियामा द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ । लाखौँ मानिस विस्थापित भएका छन् ।