चीनले नयाँ नक्सामा आफ्नो सीमा राखेको भन्दै भारतले कडा आपत्ति जनाएको छ । तर यसबारेमा चीन अहिलेसम्म मौन रहेको छ ।भारतले चीनको नक्सालाई लिएर दुई देशबीचको सीमा समस्या सुल्झनुको सट्टा थप बल्झिने प्रतिक्रिया दिएको छ ।विदेश मन्त्री एस. जयशङ्करले चीनले सार्वजनिक गरेको नक्सामा भारतले कडा विरोध जनाएको बताउनुभएको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै मङ्गलवार नयाँ नक्सा जारी गरेको थियो । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति निकालेर सार्वजनिक चिनियाँ नक्साबारे प्रतिवाद गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँले भन्नुभएको छ,‘हामीले कुटनीतिक माध्यमबाट कडा विरोध जनाएका छौँ, सीमा सम्बन्धी समस्या सुल्झनुको सट्टा थप बल्झन सक्छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच दक्षिण अफ्रिकामा सीमा विवाद सुल्झाउनेबारे कुराकानी भएको केही दिनमा नै चीनको नयाँ नक्सा आएको हो । चीन र भारतबीच सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा झडप भएयता सम्बन्ध बिग्रिएको छ ।